हिमाली आवाज । विसं २०७४ मा नेपालको इतिहासमा पहिलो पटक प्रदेश सभाको निर्वाचन भयो । कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ मा माओवादी केन्द्रका रामजी प्रसाद बराल उम्मेदवार हुनुहुन्थ्यो ।प्रदेशसभाको सो निर्वाचन क्षेत्रमा माछापुच्छ्रे गाउँपालिकाका पूरै नौ वडा र पोखरा महानगरका छ गरी १५ वडा छन् ।
माछापुच्छ्रेका सार्दिखोला र घाचोकका जनताको चुनावमा उम्मेदवारसँग माग रहन्थ्यो, रातोपानी रातोपानीमा सेती नदीमाथि पक्की मोटर हिँड्ने पुल । विशेषगरी रातोपानीमा पुल नहुँदा सार्दिखोलाका स्थानीय गाउँपालिका पुग्न समेत पोखरा हुँदै जानुपर्ने बाध्यताका कारण उनीहरुले उम्मेदवारसँग एउटै माग दोहो¥याइरहे रातोपानीमा पुल चाहियो ।
सार्दिखोला र घाचोकलाई जोडन् सेतीमाथि रातोपानीमा झोलुङ्गे पुल भएपनि मोटरेवल पुन नहुँदा जनतालाई सास्ती थियो । निर्वाचनमा उम्मेदवार बनेर घरेदैलोमा जाँदा रातोपानी पुलको जनताको माग पूरा गर्ने प्रतिवद्धता जनाउनुभएका बराल निर्वाचनमा विजयी बन्नुभयो ।
अहिले प्रदेश सरकारको महत्वपूर्ण अर्थमन्त्रालयको जिम्मेवारीमा रहनुभएका बरालले चुनावी बाचा पूरा गर्दै रातोपानी पुल बन्नुपर्ने जनताको माग सुनुवाई गर्दै आफ्नो चुनावी बाचा समेत पूरा गर्नुभयो । पुलको केही समयदेखी सुरुआती काम भइरहेको छ ।

माछापुच्छ्रेका वडा नं २ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख लागतमा पुल निर्माणको काम सुरु गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । अर्थमन्त्री बरालले गाउँपालिकाका सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ«े गाविसका नागरिकहरुका लागि अत्यावश्यक सो पुल प्रदेश सरकारले प्राथमिकतामा राखेर योजना कार्यान्वयन सुरु गरेको बताउनुभयो ।
मन्त्री बरालले भन्नुभयो,“मलाई रातोपानीमा पुल चाहिन्छ भन्ने पहिलेदेखीनै अनुभुति हुन्थ्यो, म प्रतिनिधि भएपछि पहिलो वर्षनै पुल योजना पार्न सफल भएको थिएँ तर पुललाई यहाँसम्म ल्याउन धेरैनै कठिनाई सामना गर्नुभयो ।”पुल सार्दिखोला, घाचोक, लाहाचोक र माछापुच्छ्रेका लागि धेरै महत्वको रहेको उहाँले बताउनुभयो ।
सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भएपनि ठूला सवारी साधन सञ्चालन हुन सक्दैन । माछापुच्छ«े–२ सार्दिखोलाका पुष्पराज गौतम प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम अहिले भइरहेकाले आफूहरु उत्साहित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका जान समेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यही वर्षमा पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।”गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालको पहल र उहाँलेनै पुलको शिलान्यास गर्नुभएको गौतमले बताउनुभयो ।
माछापुच्छ्रेका वडा नं २ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएपछि काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।
पुल आगामी विसं २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुबैतर्फ डेढ मिटर फुटपाथ सहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ ।