हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उम्मेदवार कोइरालाले शनिबार उक्त वडाको मालेपाटन, ढोडबेंशी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गर्नुभयो । स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस क्षेत्रका समस्या र आवश्यकताबारे राय लिनुभयो ।
सोही क्रममा स्थानीयले मालेपाटन ढोडबेंशीलाई उखु खेतीको हबका रुपमा घोषणा गर्नुपर्ने माग गरेका थिए । १० रोपनीमा उखु खेती गर्दै आएका मालेपाटनका नारायणप्रसाद पाण्डेले प्रदेशमा गठबन्धनको सरकार बन्दा मात्रै स्थानीय कृषकको माग सम्बोधन हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले युवा उम्मेदवार पाएका छौं । हामीले जिताएर पठाएपछि हाम्रो माग पक्कै सम्बोधन हुन्छ भन्ने विश्वास छ ।’
अर्का कृषक ढोडबेंशीका केदार अधिकारीले त्यस क्षेत्रमा ४ हजारभन्दा बढी रोपनीमा उखु खेती भइरहेको बताउनुभयो । ‘यति धेरै उखु कृषकको मत अब युवा उम्मेदवारलाई नै जान्छ । युवालाई जिताउनु समयको माग पनि हो । जितेर गएपछि प्रदेशकै नेतृत्व गर्न सक्ने खुबी छ ।’ उहाँले भन्नुभयो ।
स्थानीयसँगको भेटघाटका क्रममा उम्मेदवार कोइरालाले पाँच वर्ष प्रदेश सांसद हुँदा त्यहाँको पूर्वाधार विकासमा आफ्नो ध्यान गएको बताउनुभयो । ‘पहिलो कार्यकाल पूर्वाधार निर्माणमा जोड दियौ । अब जनताको जीवनस्तर उकास्ने गरी कृषि, पशुपालन, आयआर्जन वृद्धिका योजना ल्याउँछौं ।’ कोइरालाले भन्नुभयो ।
आफू निर्वाचित भएपछि त्यस क्षेत्रलाई उखु खेतीको हबका रुपमा विकास गरेर उत्पादन वृद्धि र खुदो बनाउने प्रक्रियालाई थप आधुनिकीकरण गर्ने योजनाको खोजी गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । भेटघाटमा पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेसका प्रदेश १(क) का सभापति दुर्गा सुवेदी, नेताहरु बुद्धिमान गुरुङ, वडा सभापति कुलप्रसाद अधिकारी, संविधानसभा सदस्य तेजकुमारी पौडेलगायत सहभागी हुनुहुन्थ्यो ।

