समाजवादीका सचिव नेपाली एमालेमै फर्किए

हिमाली आवाज । एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किनुभएको छ । उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिवार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएको हो ।

विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेकपा (एस) का केन्द्रीय प्रतिनिधि सदस्यसमेत रहनुएका नेपालीले नेकपा एसका नेताले विधि पद्धतिका कुरा गरेपनि आफै सांगठनिक पद्धतिमा नचल्ने गरेको आरोप लगाउनुभयो ।

हिजोको सहयोद्धासँग एकसाथ पार्टी मजबुत बनाउन लागि पर्ने भन्दै उहाँल नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नै नेकपा एमाले रहेको दावी गर्नुभयो ।

एमाले कास्की ईञ्चार्ज एवं केन्द्रीय सदस्य कृष्ण थापाले मुक्ति आन्दोलनका नेता नेपाली पुनः घर फर्किँदा आफू हर्षित बनेको बताउँदै बाहिर रहेका सबैका लागि ढोका खुला रहेको र विशाल हृदयले स्वागतका लागि आतुर रहेको बताउनुभयो ।

कास्की क्षेत्र नं. २ (क) का उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य भीम कार्कीले एमालेको महत्वपूर्ण खम्बा नेपालीलाई स्वागत गर्दै एउटा समुदायलाई पछाडि पारेर समाज र देश विकास सम्भव नभएकाले विगतका विभेदको क्षतिपूर्तिसहित सँगसँगै हातेमालो गरेर एमाले अघि बढिरहेको बताउनुभयो ।

कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवार मीना गुरूङले उत्पीडित दलित उत्पीडित वर्गको पार्टी नेकपा एमाले भएकाले पार्टीमा उत्पीडित वर्गको सहभागिता अपरहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा संघीय समानुपातिक उम्मेद्वार नन्दकला नेपाली क्षेत्रका समानुपातिक उम्मेदवार डा. छममाया पुन, एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, मुक्ति समाज केन्द्रीय सचिव धनबहादुर नेपाली, जिल्ला सचिवालय सदस्य भेषराज बराललगायतले भनाई राख्नुभयो ।

निर्वाचन परिचालन उपसमिति क्षेत्रीय संयोजक मनबुजा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य किसान परियारले स्वागत एवं पार्टी प्रदेश कमिटि सदस्य बलराम गायकले सञ्चालन गर्नुभएको थियो ।

Comments
Loading...