हिमाली आवाज ।कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गर्नुभएको छ ।
विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उहाँले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पु¥याउन मत दिन आग्रह गर्नुभयो ।
पोखरा –२१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा आज उहाँले पोखराका ग्रामिण क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने जनाउनुभयो ।
गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिनुभएका एकिकृत समाजवादीका श्रीनाथ बरालले जितेपछि सधै मतदाताको शिर उच्च राख्ने गरी काम गर्ने बाचा गर्नुभयो । पोखरा २१ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने उहाँको प्रतिवद्धता छ ।एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ्ले गठबन्धनका उम्मेदवारले जनताको भावना बुझेर काम गर्ने बताउनुभयो ।
काँग्रेस कास्की २ कका सभापति दिनेश आचार्यले देशमा बौद्धिक पलायनको समस्या रहेको भन्दै शिक्षामा उचित योजनाको खाँचो रहेको औंल्याउनुभयो । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार वृन्दा रानाले मुलुकका समस्या बुझेर अवस्था अनुसार गठबन्धनले काम गर्ने बताउनुभयो ।
माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङ करणले विगतमा काम गरेको हेरेर विश्वप्रकाशलाई जिताउनुपर्ने बताउनुभयो । विगतमा केही नेताले गठबन्धनको दुरुपयोग गरेका कारण गठबन्धन टुटफुट भएको उहाँको भनाई छ ।
नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण थापा, एकिकृत समाजवादीका जिल्ला सल्लाहाकार पूर्णबहादुर थापा, नेपाली काग्रेस क्षेत्र नं २ का सदस्य दुर्गा थापा, माओवादी केन्द्र २१ महिला संघ संयोजक देवी अधिकारी, पुर्णदीप सिग्देल, नेपाली काँग्रेस २१ इकाइ सभापती केवल गिरी लगायतले कार्यक्रममा भनाई राख्नुभयो ।

