हिमाली आवाज । पाँच दलिय गठबन्धनबाट कास्कीको निर्वाचन क्षेत्र नं ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गाउँ ल्वाङको पर्यटन प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताउनुभएको छ ।
चुनावी घरदैलोका क्रममा माछापुच्छ«े वडा नं ८ र ९ का विभिन्न स्थानमा पुग्नुभएका उम्मेदवार भण्डारीले माछापुच्छ्रे गाउँपालिका पर्यटकीय हिसावले जिल्लामै उत्कृष्ट रहेकाले पर्यटन विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले ल्वाङबाट खानी गाउँ हुँदै अष्ट्रेलियन क्याम्पसम्म चक्रपथको नयाँ बाटो निर्माण आफूहरुको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले पर्यटकीय गाउँ ल्वाङलाई पक्की कालोपत्रे सडकबाट जोड्ने र घलेल हुँदै कालीमाटी सिदिङसम्मको सडक पक्की बनाइने प्रतिवद्धता जनाउनुभयो । उम्मेदवार भण्डारीले भन्नुभयो,“कालोपत्र हुन बाँकी वडा नं ८ र ९ का मुख्य सडकहरुलाई पक्की बनाउन मेरो तर्फबाट पहल गर्नेछु ।”
भण्डारीले मर्दी हिमाल पदयात्रा मार्गलाई व्यवस्थित गरी धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिनुभयो । गठबन्धनका साझा उम्मेदवार भण्डारीले घरदैलोका क्रममा जनताका गुनासा र आवश्यकतालाई सम्वोधन गर्ने प्रतिवद्धता जनाउँदै आउनुभएको छ ।
घरदैलोमा गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

