माछापुच्छ्रे गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखी काम ठप्प छ ।

गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखी स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्रे सडक निर्माण योजना अन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भएपनि अहिले अलपत्र परेको छ ।

गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीबाट रु १० करोड लगानीमा माछापुच्छ«ेको प्रवेशद्धार मर्दीपुलदेखी भिरकटेरा, बानेटाकुर हुँदै गाउँपालिकासम्मको सडक निर्माणका लागि हिमदुङ थोकर जिएसआर जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

डेढ वष अघिनै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाई भएको स्थानीयको भनाई छ । सडकको काम लामो समयदेखी रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समयभएपनि कालोपत्रेको काम सुरु भएको छैन ।

निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । समयमै सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलो सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता स्थानीयको छ ।

लाहाचोकका स्थानीयवासीले सोमबारी गाउँपालिका जोड्ने सडकको काम तत्कालै सुरु गर्न माग सहित गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाए । उनीहरुले पाँच दिनभित्रमा काम सुरु नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने बताएका छन् ।

स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताउनुभयो । उहाँका अनुसार अहिले सो सडकको सबै काम ठप्प छ ।

“हामीले सडक छिटो सम्पन्न गर्न पटक पटक आवाज उठाएका छौँ तर सुनुवाई भएको छैन ।” अधिकारीले भन्नुभयो,“गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखी अलपत्र पर्दा दुःख पाएका छौँ। गाउँपालिका र प्रदेश सरकारले दवाव दिनु पर्दछ भनेर पहिलो चरणमा गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हौँ ।”

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सो सडकमा लामो समयदेखी काम रोकिएकाले तत्कालै सुरु गर्न निर्माण कम्पनी तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।गाउँपालिका जोड्ने सडक भन्दा पछि ठेक्का लगाएर सुरु गरेका दुई पक्की सडक दुई वर्षअघिनै सम्पन्न हुँदा समेत मुख्य सडकको काम ढिलाई भएको लाहाचोक भिरकटेराका दीपक अधिकारीले बताउनुभयो ।

निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोमबार गाउँपालिकाको लाहाचोकमा घरदैलोका क्रममा स्थानीयले पालिकाको गौरवको सो सडक चाँडै सम्पन्न गर्न गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीसँग माग गरेका थिए ।उनीहरुले डेढ वर्षअघि सम्पन्न हुनुपर्ने सो सडकमा अहिलेसम्म पनि कालापत्रेको काम नभएको भन्दै काम सुरु गर्न पहल गरिदिन आग्रह गरे ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालको पहलमा गाउँपालिका जोड्ने सो सडकको काम अघि बढेको हो । सुरुमा प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक योजना अन्तर्गत सोही क्षेत्रबाट निर्वाचित सांसद बरालले गाउँपालिका जोड्ने सो सडक छनोट गर्नुभएको थियो ।

Comments
Loading...