कास्की क्षेत्र नं १(१) : पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथि

  महाभारत युद्धमा अर्जुनको रथ कृष्णले हाँकेजस्तै दीपक कोइरालालाई जिताउन कांग्रेस सहमहामन्त्री जीवन परियार सारथिको भूमिकामा उत्रिनुभएको छ ।

हिमाली आवाज । राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १(१) मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग पराजित हुनुभयो अहिले उनै उम्मेदवारलाई जिताउन कस्सिनुभएको छ ।

कांग्रेस नेता परियार र माओवादी केन्द्रका नेता दीपक कोइराला अघिल्लो प्रदेशसभाको चुनावमा प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यतिबेला वाम गठवन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएका कोइरालाले चुनाव जित्नुभयो ।

अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धन हुँदै एकतासम्म पुगेर नेकपा बने पनि केपी ओलीले संसद विघटन गरेपछि तीन टुक्रा भएको छ । संसद विघटन पछि पाँच दलीय गठबन्धन बनेको छ । स्थानीय चुनावमा सहकार्य गरेका दलले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई कायम राखेका छन् ।

पहिले जितेका निर्वाचन क्षेत्रमा त्यही दलको उम्मेदवार हुने गठबन्धनभित्रको सहमतिसँगै कास्की १(१) माओवादी केन्द्रले पायो । रुपा गाउँपालिका र पोखरा महानगरका वडा २६, २७, २८, २९, ३०, ३१ र ३२ यो क्षेत्रमा पर्छन् । पाँच वर्षमा त्यस क्षेत्रका स्थानीयको मन जित्नुभएका कोइरालालाई माओवादी केन्द्रले पुनः उम्मेदवार बनायो । प्रदेशसभामा अर्थ तथा विकास समितिको सभापति भएर लोकप्रिय काम गरेका युवा नेता भएकाले पनि कांग्रेससँगै एमाले कार्यकर्ताले पनि मत दिने माओवादीको आकलन छ ।

कांग्रेस सहमहामन्त्री परियार स्वयं प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा हुनुहुन्छ । उहाँ संघीय सांसद बन्ने निश्चितप्राय छ । अब उहाँको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनको उम्मेदवारलाई जिताउनुमा छ ।

परियार यतिबेला कास्की १ (१) मा उम्मेदवार कोइरालालाई जिताउन स्थानीयसँग भेटघाट गरिरहनुभएको छ ,गठबन्धनका दलका स्थानीय नेतासँगै छन् । दुई युवा र क्षमतावान नेताको जुगलबन्दी जनताले रुचाएका छन् । महाभारत युद्धमा अर्जुनको रथ कृष्णले हाँकेजस्तै कोइरालालाई जिताउन कांग्रेस नेता परियार सारथिको भूमिकामा उत्रिनुभएको छ । कोइरालालाई जिताउन मत मागिरहनुभएको छ ।

यसपल्ट गठबन्धनको जित निश्चित भएको परियार बताउनुहुन्छ । ओलीले संसद विघटन गरिसकेपछि विशेष परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको उहाँले बताउनुभयो । ‘हामी हिजो झगडा गरेका आदर्श नमिलेका दलहरु पनि एउटै पार्टी भएर एक ठाउँमा बस्नु चानचुने कुरा होइन । कुनै बेला माओवादी र कांग्रेस मिलेर सँगै हिँड्छन् भनेर कसैले पनि कल्पना गरेको थिएनन्,’ उहाँले भन्नुभयो, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, समृद्धि र विकास निर्माणका लागि गठबन्धन आवश्यक प¥यो ।’

 

Comments
Loading...