चुनावपछि भूमिहिनलाई लालपूर्जा, टुँडिखेल खेल मैदान क्षेत्रीयस्तरको बनाउँछौँ : उम्मेदबार बराल

हिमाली आवाज । आसन्न प्रनितिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बरालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिट्टै अन्त्य गरिने बताउनुभएको छ ।

चुनावी घरदैलो तथा अभियानका क्रममा आज पोखरा महानगरपालिका–१ मा भएको सम्पर्क कार्यालय उद्घाटन तथा कोणसभामा उहाँले वडाका कसेरी, सिमपानी लगायतका स्थानमा बसोबास गरिरहेका वास्तविक भूमिहिन र अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्रदान गरिने बताए ।

भूमि सम्बन्धी समस्या समाधानका लागि वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर सो आयोगले अव्यवस्थित बसोबासी , भूमिहीन र भूमिहीन दलितको लगत सङ्कलन गरेर निस्सा प्रदान गरेकाले वास्तविक भूमिहिनले रातोपूर्जा प्राप्त गर्ने बताउनुभयो ।

उम्मेदवार बरालले भन्नुभयो,“संविधानको भावना अनुसार पनि अब यो देशमा कोही पनि भूमिहिन हुनु पर्दैन । सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको छ । चुनावपछि यो समस्या सदाका लागि अन्त्य गर्ने गरी काम हुन्छ ।”

पोखराको सिमपानी र कसेरी बासीले सेती नदीको हालको ५० मिटर मापदण्डका कारण आफूहरु मर्कामा परेको गुनासो गर्दै मापदण्डलाई केही खुकुलो पार्न आग्रह गरेका थिए । उम्मेदवार बरालले त्यसका बारेमा अध्ययन गरेर जनतालाई सहज बनाउने प्रतिवद्धता जनाउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहनुभएका बरालले कसेरी खेल मैदान र टुँडिखेल खेल मैदानलाई स्तरोन्नति गरी क्षेत्रीयस्तरको खेल मैदानका रुपमा विकास गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।उहाँले भन्नुभयो,“अहिले पनि प्रदेश सरकारबाट बाटो, खानेपानी, विद्यालय लगायतमा बजेट विनियोजन गरी आवश्यकता पूरा गर्ने प्रयास गरेका छौँ। यस क्षेत्रका समस्याप्रति जानकार रहेकाले आगामी दिनमा तिनलाई पूरा गर्न लाग्नेछौँ ।”

कास्की निर्वाचन क्षेत्र नं ३(१)का गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीले जनताका आवश्यकता पूरा गर्नु स्थानीय, प्रदेश र संघीय सरकारको दायित्व रहेको बताउनुभयो । सो क्षेत्रमा विकासका बाँकी काम पूरा गर्ने जिम्मेवारी आफूले लिने उहाँको भनाई छ । संविधान, व्यवस्था र लोकतन्त्रका रक्षाका लागि गठबन्धनलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ एवं संविधानसभा सदस्य शारदा पौडेलले गठबन्धनका दलका नेता कार्यकर्ताले इमानदारी पूर्वक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“गठबन्धनका उम्मेदबार कुनै एक दलका मात्र होइनन्, पाँच दलका साझा उम्मेदवार हुन् । उनीहरुलाई विजयी गराउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नु आवश्यक छ ।”

नेकपा(माओवादी केन्द्र)का गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गठबन्धनका उम्मेदवारले नजिते देशमा पुनः निरंकुशता र संविधानमाथिको प्रहार नरोकिने बताउँदै अहिलेको गठबन्धन प्रणाली र संविधानको रक्षाका लागि भएको बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्रीय सभापति पुष्पेन्द्र पाण्डेले सम्पूर्ण काँग्रेस समर्थकले इमानदारी पूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाली काँगेसका वडा सभापति अमृतलाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का रुद्र लुईटेल, नेकपा(एकीकृत समाजवादी)का ऋषि पौडेल, नेपाली काँग्रेसका निर्वतमान वडा सभापति टंकनाथ पौडेल लगायतले वडामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि नियमित प्रचार प्रसार गरिने बताउनुभयो ।

घरदैलोमा नेकपा(माओवादी केन्द्र)बाट समानुपाति उम्मेदवार सोमति गुरुङ, साशा आले, बखानसिँह गुरुङ लगायत गठबन्धनका दलका प्रदेश, जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

उम्मेदवार सहितको प्रचार प्रसार टोलीले वडाका बागबजार, नयाँगल्ली, हरिचोक,सिमपानी, टुँडिखेल, कसेरी लगायतका क्षेत्रमा घरदैलो सहित संविधानका रक्षाका लागि साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको माओवादी केन्द्र पोखरा महानगरका उपाध्यक्ष भानभक्त अधिकारीले जानकारी दिनुभयो ।

Comments
Loading...