हिमाली आवाज ।नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गर्नुभएको छ ।
उहाँले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाउनुभयो ।

लामिछानेले भन्नुभयो,‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’
पोखरा ३३ मा भएको चुनावी सभामा लामिछानेले कोत्रे, पुँडीटार, बागमारा, कृस्ती हुँदै चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘महानगरमा पछि थपिएको यो क्षेत्रका बासिन्दालाई महानगरको अनुभूति दिन चत्रपथ निर्माणसँगै व्यवस्थित सहरीकरण र कृषिको व्यवसायीकरण जरुरी छ ।’ विज्ञहरुसँग छलफल गरी उपयुक्त योजना बनाएर यो क्षेत्रको विकास गर्ने योजना उहाँले सुनाउनुभयो ।