सहारा फुटबल एकेडेमीलाई केसी परिवारको १५ लाख सहयोग

हिमाली आवाज । सहारा क्लब पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई रु १५ लाख सहयोग प्राप्त भएको छ ।

पोखराका प्रतिष्ठित उद्योगी एवं राजनीतिज्ञ स्व. सूर्यबहादुर केसीको दोस्रो वार्षिक स्मृति दिवस पारेर बिहीबार केसीका परिवारले सो रकम प्रदान गरेका हुन् ।

स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँगको बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताउनुभयो ।

भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । केसीका अर्का छोरा तथा हिमश्री फुड्सका निर्देशक किरण केसीले बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताउँदै बुबाको काम र विचारलाई स्थापित गरी जिवन्त बनाई राख्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व एसएसपी कृष्णबहादुर थापा, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ लगायतले स्व. केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पु¥याएको योगदानको गर्नुभयो । गत वर्ष स्व. केसी परिवारले क्लबले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो ।

कार्यक्रममा स्व. जुमबहादुर गुरुङको स्मृतिमा उहाँको परिवारले एकेडेमीलाई रु ५० हजारको अक्षय कोष सञ्चालन गर्ने गरी रकम हस्तान्तरण गरेको छ ।

सहारा एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहँदै आएका छन् । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लवले आयोजना गर्ने आहा–रारा ! गोल्डकप प्रतियोगिताको मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

सहारा क्लबले आफैले जग्गा खरिद गरेर पोखरा–१७ दोविल्लामा एकेडेमी सञ्चालन गर्दै फुटबल खेलको विकास गदैै आएको छ ।

Comments
Loading...