हिमाली आवाज । आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरु चुनावी प्रचारमा छन् । घरदैलो र कोणसभामार्फत उम्मेदवारहरुले मत मागिरहेका छन् ।
कास्कीको क्षेत्र नं ३ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार रामजी प्रसाद बराल र प्रदेशसभाका उम्मेदवार दुर्गादत्त भण्डारीले पाँच वर्षको अवधिमा माछापुच्छ्रे गाउँपालिकामा प्रदेशबाट विकासको जग हालिएको बताउँदै आगामी दिनमा यसलाई समृद्ध बनाइने संयुक्त प्रतिवद्धता जनाउनुभएको छ ।
आज लाहाचोकमा घरदैलो र घाचोकमा भएको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उहाँले पूर्वाधार,कृषि, पर्यटन, शिक्षा र सिँचाई लगायतका क्षेत्रमा विकासको जग हाल्न आफू सफल भएको प्रतिनिधिसभा उम्मेदवार बरालले बताउनुभयो ।
उहाँले आफ्नो पहलमा गाउँपालिका केन्द्र जोड्ने पक्की बाटो निर्माणको थालनी, रातोपानीमा मोटरेवल पुल, रिभान खहरे र भिँडाबारीको इदीखोलामा पक्की पुल सम्पन्न भएको बताउँदै वडा नं १ को धिप्राङ खोला र मर्दी खोलामा पक्की पुलका लागि यस वर्ष बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
माछापुच्छ्रेका रणनीतिक सडकहरु मेलबोट, अस्ताम, धिताल सडक, लगायतक धुप्रै सडक योजनाको काम अघि बढेको बरालले बताउनुभयो । उहाँले भन्नुभयो,“पाँच वर्षको अवधिमा माछापुच्छ्रेमा विकासको जग तयार भएको छ । आगामी निर्वाचनमा विजयी भएपछि समग्र पालिकाको समृद्धिका लागि मेरो ध्यान रहनेछ । ”

गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहनुभएका बरालको पहलमा माछापुच्छ्रेमा वर्षेनी करोडौँका योजना पर्ने गरेका थिए । चालू आवमा पनि पूर्वाधारतर्फ रु ३० करोड बजेट परेको छ ।
क्षेत्र नं ३(१) को अन्तर्गत प्रदेशसभाका उम्मेदवार दुर्गादत्त भण्डारीले लाहाचोक र घाचोकवासीका समस्या पहिचान गरी प्राथमिकीकरणका आधारमा समाधान गरिने स्पष्ट पार्नुभयो । उहाँले प्राविधिक शिक्षालय स्थापना लगायत घाचोक स्थित मोटरबाटाहरुको स्तरउन्नतिमा आफूले विशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कांग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठीले गठबन्धनका उम्मेदवारलाई हर हालतमा जिताउनुपर्ने भन्दै यदि अप्रत्यासित नतिजा आए देश पुनःप्रतिगमनतर्फ धकेलिने स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस माछापुच्छे« गाउँपालिका सभापति वीरेन्द्र गुरुङले कांग्रेस नेतृत्वको गठबन्धन मुलुकको स्वाधिनता रक्षाका लागि गरिएको जनाउँदै त्यसले मात्रै समृद्धि ल्याउने बताउनुभयो ।
त्यस अवसरमा नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेम पौडेल, गठबन्धनमा नेताहरु शंकर कार्की, कृष्णकुमार श्रेष्ठ, श्रीराम पोखरेल लगायतले पनि धारणा राख्नुभयो।