गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा:कोइराला

हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याउनुभएको छ ।

माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा–२९ पट्नेरीमा सुकुम्बासीको भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले नै लालपूर्जा वितरण गर्ने बताउनुभयो ।

माओवादी केन्द्रले पाँच वर्षमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवद्धता गरेकोमा हाल गठबन्धन सरकारले उक्त काम गरिरहेको उहाँले सुनाउनुभयो ।‘लालपूर्जा वितरण, निस्सा वितरण सुरु गरिसकेको र केहीले मात्रै प्राप्त गर्न बाँकी छ,’ उहाँले भन्नुभयो, ‘अबको चुनावबाट गठबन्धनको सरकार बनेर बाँकी काम पूरा हुन्छ । होइन भने त्यो प्रक्रिया पछाडि फर्किने सम्भावना छ ।’

गठबन्धन बाहेकको सरकार बन्दा सुकुम्बासीलाई भोट बैंक बनाइरहने प्रवृत्ति दोहोरिने कोइरालाको भनाई छ । ‘सुकुम्बासी नै भएनन् भने अरु दलले राजनीति गर्ने ठाउँ नै पाउँदैनन्,’ उहाँले भन्नुभयो,‘त्यसका लागि पनि गठबन्धन बाहेकको दलले यो समस्या अन्त्य होस् भन्ने चाहँदैन । अर्को सरकार बन्यो भने फेरि नयाँ शिराबाट प्रक्रिया सुरु हुन्छ ।’

पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित मेयर हुँदा नै निस्सा वितरण गर्न नमान्दा आन्दोलन नै गर्नुपरेको उहाँले स्मरण गर्नुभयो ‘अहिले महानगरको मेयर पनि गठबन्धनकै दलको हुनुहुन्छ । अब बन्ने प्रदेश र संघ सरकारमा पनि पाँच दलीय गठबन्धन आउँदा भूमिहीन समस्या छिटो समाधान हुन्छ ।’ कोइरालाले भन्नुभयो ।

Comments
Loading...