धितालवासीले भने:सडकमा करोडौँ बजेट आयो,अब छिटै कालोपत्रे होस्

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ धितालका हरिकृष्ण पौडेल गाउँ पोखरा ओहोरदोहोर गर्नुहुन्छ । हेमजाको मेलबोट, अस्ताम धिताल धम्पुस सडक हुँदै उहाँ घर आउने गर्नुहुन्छ ।

तर उहाँलाई घर आउने कच्ची सडकले हैरानी दिएको छ । आफ्नो नीजि सवारीमा आउदा बाटोका खाल्डाखुल्डीले उहाँलाई सताउने गर्दछ । शनिबार चुनावी घरदैलोका क्रममा पोखरा फर्किदै गर्दा भेटिनुभएका प्रतिनिधिसभाका उम्मेदवार रामजी प्रसाद बराललाई पौडेलले आफ्नो गुनासो सुनाई हाल्नुभयो । गण्डकीका अर्थमन्त्री बरालकै पहलमा सो सडकका लागि रु १० करोड विनियोजन भएर सडक विस्तारको काम सुरु भएपनि बाटोका खाल्डाखुल्डी पुरेर सहज यात्राको व्यवस्था मिलाउन पौडेलले माग गर्नुभयो ।

उहाँले उम्मेदवार बराललाई भन्नुभयो,“तपाईले हाम्रो यस सडकलाई १० करोड बजेट हाल्दिनुभएको छ तर अहिले सडकका खाल्डाखुल्डीले भोट हाल्न आउने सकिने अवस्था छैन । तपाईकै पहलमा अस्थायी भएपनि सहज भोट हाल्न आउन सकिने वातावरण बनोस् ।” बरालले लगैत्त यसका लागि पहल गर्न सोही वडाका वडाध्यक्षलाई आग्रह समेत गर्नुभयो । पौडेलले सडक निर्माणमा ढिलासुस्ती नहुने गरी छिट्टै कालोपत्रे गर्न समेत माग गर्नुभयो।

धितालवासी पोखरा आउजाउको आफ्नो मुख्य सडक छिटै कालोपत्रे भएर सहज यात्राको प्रतिक्षामा छन् । स्थानीयको माग छिटै सडक कालोपत्रे होस् भन्ने माग उम्मेदवारसँग छ ।

गण्डकीका अर्थमन्त्री समेत रहेका बरालबाट मेलबोट,अस्ताम, धिताल, धम्पुस सडकका लागि चालू वर्षमा रु १० करोड बजेट व्यवस्था भएर सडक निर्माणको काम अहिले सुरु भएको छ । विगतमा सडक स्तरोन्नतिका लागि लामो संघर्ष गरेका धितालवासी बरालले प्राथमिकता दिएर सडकको योजनामा बजेट विनियोजन गरेपछि उत्साहित भएका छन् ।

आफ्नो क्षेत्रको विकासमा ध्यान दिने उम्मेदवार बराललाई यस पटक पुनः विजयी गराएर संघबाट समेत विकासको ठूलो बजेट आफ्नो ठाउँमा ल्याउनेमा धितालवासी एकजुट देखिएका छन् । स्थानीय पूर्णभद्र अधिकारीले भन्नुभयो,“धितालका लागि रामजी बरालले धेरै ठूलो सहयोग गर्नुभएको छ । पुल, खानेपानी, सडक र पर्यटन सबै क्षेत्रमा दिल खोलेर योजना पारिदिनुभएको छ । उहाँप्रति हामी सबै आभारी छौँ ।”

उम्मेदवार बरालले आफ्नो पाँच वर्षको अवधिमा भिँडाबारीमा इदीखोलामा मोटरेवल पुल, मेलबोट अस्ताम पर्यटन पदमार्ग, लगायतका धेरै योजना अघि बढाउन सफल भएको बताउनुभयो । उहाँले अझै धेरै काम गर्न बाँकी रहेकाले विकासको जिम्मेवारी आफूलाई दिन समेत स्थानीयसँग आग्रह गर्नुभयो ।

प्रदेशसभाका उम्मेदवार दुर्गादत्त भण्डारीले धितालका विकासका बाँकी कामको जिम्मेवारी सहित आफू अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,“धितालमा रामजी सरले जति पहल गरेर विकासका योजना ल्याउनुभयो । त्यसको बाँकी जिम्मेवारी लिने प्रतिवद्धता सहित अघि बढेको छु ।” भण्डारीले कृषि, पर्यटन, उर्जा क्षेत्रको विकास गरी माछापुच्छ्रेलाई समृद्ध बनाउने आफ्नो योजना रहेको सुनाउनुभयो ।

भण्डारीले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताउँदै मेलबोट अस्ताम, धिताल धम्पुस सडक चाडै कालोपत्र हुने प्रतिवद्धता जनाउनुभयो ।

चुनावी घरदैलोमा संविधानसभा सदस्य शारदा पौडेल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गा विक, माओवादी नेता आशमान रोका, कांग्रेस माछापुच्छ«े सभापति वीरेन्द्र गुरुङ, बाम लोकतान्त्रिक गठबन्धन ३ (१) का संयोजक विष्णुबहादुर केसी ,काँग्रेस नेता दीपक पौडेल लगायत सहभागी हुनुहुन्थ्यो ।

Comments
Loading...