संसद विघटन गर्नेले मत पाउँदैनन् : विश्वप्रकाश

हिमाली आवाज । नेकपा(माओवादी) केन्द्रका नेता एवं कास्की क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले नेपाली जनता राजनीतिक दलभन्दा अग्रगामी भएको तर्क गर्दै चुनावमा यो पुष्टि हुने बताउनुभएको छ । लामिछानेले बारम्बार आफ्नै बहुमतको प्रतिनिधिसभा विघटन गर्नेले संविधान कार्यान्वयन, समृद्धि र स्थिरताको नाममा मत माग्नु लाजमर्दो भएको तर्क गर्नुभयो

उम्मेदवार लामिछानेले भन्नुभयो,‘को कस्तो जनतालाई थाहा छ । संसद भंग गर्ने फेरि सांसद बनाइदेऊ भनी मत माग्ने यो त नाटकै भयो नि ।’ उहाँले संविधानको संरक्षण गर्दै समृद्ध देश बनाउन बनेको गठबन्धनका उम्मदेवारलाई जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा–२१ पीपलडालीमा आइतबार भएको घरदैलो र कोणसभामा उहाँले संविधानले ग्यारेन्टी गरेका मौलिक हक सुनिश्चित गर्नेतर्फ गठबन्धनको अर्जुनदृष्टि रहेको जनाउनुभयो । लामिछानेले भन्नुभयो,‘हामी विपि र पुष्पलालका सपना पूरा गर्न आएको हौं । जितेपछि जनताको नाममा राष्टघात कदापि गर्दैनौं बरु जनतालाई त्यस्ता हर्कत हुन खोजे जानकारी दिन्छौं ।’

पोखरा महानगरमा पछि थपिएका वडाका जनताको जीवनस्तर उकास्न चक्रपथ निर्माण, पर्यटन र कृषि पूर्वाधारमा लगानी जरुरी भएको उहाँले औँल्याउनुभयो । ‘पछि थपिएका क्षेत्रमा महानगरमा चाहिने अत्याधुनिक संरचना बनाउनुपर्छ, योजनावद्ध विकास गर्न सकिन्छ ।’ लामिछानेले भन्नुभयो ।

Comments
Loading...