हिमाली आवाज । कास्कीको पोखरा महानगरपालिका वडा नं १८ सराङकोट बासिले गाउँमा पानी ल्याइदिने रामजी प्रसाद बराल (जीवन)लाई मतदान गर्ने भएका छन् ।
पिउने पानीको लामो समय देखि समस्या झेल्दै आएका सराङकोट बासी गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहनुभएका प्रतिनिधिसभाका उम्मेदवार बरालको पहलमा हिजो आज घर घरमा पानीको सुविधा पुगेसंगै पानी व्यबस्था मिलाउने उमेदवार बराललाई यसपटक गुन तिर्न पनि मतदान गर्ने उद्घोष गरेका हुन्।

स्थानिय अगन्धर तिमिल्सिनाले आफुहरुले सराङकोटमा सहज रुपमा पानी प्राप्त नगर्दा विस्थापित हुन लागेको बस्ती नै हाल रोकिएको बताउनुभयो । घण्टौं पैदलबाट पानीको जोहो गर्नुपर्ने सराङकोटमा यति वेला प्रायः घर घरमा धारा जडान भए पछि यसपालि कसैको कर कापमा भन्दा स्वतस्फूर्त रुपमा रामजीलाई मतदान गर्ने उहाँले बताउनुभयो ।
कुलन्धरी, अधेरी लगायतका ठाँउबाट समेत पानी ल्याउनुपर्ने समस्या भएको बताउदै स्थानिय भरत थापाले अब भने घर घरमा फलफुल तरकारी समेत उत्पादन हुन थालेको जानकारी दिनुभयो । केही समय केही साना तिना पहल कदमी भए पनि हाल गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालको जस्तो पहल कदमी कुनै नेताको नभएको थापाको जिकिर छ ।पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी बराललाई जिताउन आफुहरु पछि नपर्ने स्थानीय थापाले बताउनुभयो ।
उमेदवार बरालको पहलमा सराङकोटको ग्यारजाति, ढुवाङको मुल, तोरीपानी लगायतका ठाँउमा लिफ्टीङ सहितको खानेपानीको सुविधा पुगेको छ । पानीको चरम अभाव रहेको सराङकोटमा गण्डकी प्रदेश सरकार गठन पछि बरालको पहलमा खानेपानीका लागि ठूलो बजेट विनियोजन गरिएको थियो ।हाल यहाँका अधिकाँस घरमा एक घर एक धारा जडान गरिएको छ ।