रुपा तालमाथि पुल बनायौं, अरुले त्यही पुलमा राजनीति गरे : कोईराला

हिमाली आवाज । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की १ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोईरालाले आफ्नो पहलमा बनेको विकास संरचनामाथि राजनीति नगर्न र भ्रम नछर्न विपक्षी गठबन्धनलाई आग्रह गर्नुभएको छ ।

विपक्षी गठबन्धनका केही व्यक्तिहरुले रुपातालमाथि बनेको झोलुँगे पुललाई आफुले बनाएको भनेर भ्रम छर्ने गरेको भन्दै उहाँले विकासका काममा राजनीति नगर्न आग्रह गर्नुभयो । कोइरालाले यस्तो फोहोरी राजनीतिले कसैलाई पनि फाईदा नहुने उल्लेख समेत गर्नुभएको छ ।

निर्वाचन अभियान अन्तरगत पोखरा ३१ का विभिन्न स्थानमा आयोजित कोण सभामा उहाँले यस्तो आग्रह गर्नुभएको हो । पोखरा ३१ मुख्य रुपमा पर्यटकीय क्षेत्र नै भएकोले यहाँको विकासका लागि पर्यटकीय पुर्वाधारहरु निर्माण हुनुपर्नेमा कोइरालाले जोड दिनुभयो ।

गठबन्धनको चुनावी सभा पोखरा ३१ को लामास्वाँरा, सुन्दरबस्ती, वेगनासको मैदान, लौसीडाँडा, खोलाबेंशी, सिमलडाँडा लगायतका स्थानमा भएको थियो ।

यस क्षेत्रमा प्रशस्त पर्यटकीय क्षेत्रहरु भएको उल्लेख गर्दै कोईरालाले पर्यटकीय पुर्वाधार निर्माणले यहाँको रोजगारी पनि सिर्जना हुने बताउनुभयो । ‘स्थानीय रोजगारी सिर्जना गर्न पनि पुर्वाधारहरु बन्नुपर्छ, स्थानीय रोजगारीले यहाँका आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।’ उहाँको भनाई छ ।

कार्यक्रममा पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाले व्यवस्थाको रक्षा र देशको विकासका लागि ५ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन पर्नेमा जोड दिनुभयो । अबको समय विकास र सम्बृद्धिको भएको भन्दै उहाँले फेरी पनि व्यवस्था जोगाउनको लागि आन्दोलन गर्न नपर्नेका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले निर्वाचनलाई हल्का रुपमा नलिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । यो निर्वाचन जित्ने र हार्ने भन्दा पनि व्यवस्था मास्ने कि जोगाउने भन्ने जनमत पनि भएकोले गठबन्धनका पक्षमा मिहिनेत गरेर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Comments
Loading...