हिमाली आवाज । डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अरू पाँच जना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।