हिमाली आवाज । पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिनुभएको छ । पर्यटनको लागि मात्र वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उहाँहरुको छ ।
कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले बुधवार अन्नपूर्ण गाउँपालिकाका स्थानीयहरुसँगको भेटघाटमा यस्तो प्रतिवद्धता जनाउनुभयो ।
यसअघि स्थानीयले अन्नपूर्ण गाउँपालिका पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन एमाले उम्मेदवारद्वयसँग माग राखेका थिए ।
मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरी लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिनुभयो ।

निवर्तमान सांसद पहारीको कार्यकालमा नयाँपुल–घान्द्रुक पिच, विभिन्न ठाउँमा मोटरेबल बाटाघाटा खुलेका र ति बाटोहरुको स्तरोन्नतीका लागि फेरी एमालेलाई जिताउन आग्रह गरिएको छ ।
प्रदेश सभा उम्मेदवार पहारीले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै सामुदायिक भवन, मठमन्दिर निर्माण कार्य लगायतमा सहयोग गरेको भन्दै योजना अन्तर्गत बाँकी रहेका अन्य थुप्रै काम सम्पन्न गर्न पनि आफूलाई मत दिन आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेलले अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि र पर्यटनको समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता जनाउनुभयो ।