उम्मेदवार दुर्गाका एजेन्डाः सडक, पदमार्ग विस्तार, समृद्धिको आधार

हिमाली आवाज । कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गर्नुभएको छ ।   नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक चाक्लो र सुविधानसम्पन्न नभई यो क्षेत्रको पर्यटन र जनजीवनमा उल्लेख्य परिवर्तन नआउने जनाउनुभयो ।

यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा ट्राफिक जाम हुँदा त्यस क्षेत्रबाट आवतजावत गर्ने स्थानिय तथा पर्यटकहरुले सास्ती भोग्ने गरेका छन् । उसो त साँघुरो सडकका कारण विपरित दिशाबाट आएको गाडीलाई बाटो छाड्दा दुर्घटना भएका घटना पनि प्रशस्त छन् ।

स्थानियको समस्यालाई मसिनो गरेर अवलोकन गरेका भण्डारीले सो समस्या समाधानका लागि सडक चक्ल्याउने योजना ल्याउनुभयो ।  प्रचण्डका सहपाठी भण्डारीको पहुँच माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसम्मै भएकाले पनि सो सडकखण्ड चक्ल्याउने महत्वकांक्षी योजना पूरा गर्न सकिने भण्डारीको दावी छ ।

भण्डारीले आफ्नो विकासे एजेन्डामा विन्ध्यवासिनी–पोखरा बेंसी सडकखण्ड कालोपत्र गर्ने अर्को योजनाअघि सार्नुभएको छ । उहाँले पोखरा महानगरपालिका वडा नम्बर १, २ र ३ का भित्री सडक कालोपत्रे गर्ने, बागलुङ बसपार्कको स्तरोन्नति गर्ने, हरिचोक–याम्दी खाण्डmको बाटो चौडा बनाउने लगायतका एजेन्डा पनि अघि सार्नुभएको हो ।

उम्मेदवार भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको अस्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण ७ मा रहेको कान्छी बराह मन्दिरसम्मको मोटर बाटो निर्माण गरेर अन्नपूर्ण–माछापुच्छ्रे लिंक रोड निर्माण गर्ने योजनाअघि सार्नुभएको छ । साथै, उहाँले माछापुच्छ«ेको धम्पुस फेदी हुँदै डाँडाबाट अन्नपूर्ण ३ को मराउचेसम्म नयाँ बाटो खोल्ने अर्को महत्वपूर्ण योजनाअघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

उम्मेदवार भण्डारीले मर्दिहिमाल ट्रेकिङ रुट (पदमार्ग) लाई व्यवस्थित गर्ने, वन, वातावरण कृषि र पशुपालन विकासमा जोड दिने, सामुदायिक वन विकाससम्बन्धी कार्यक्रम चलाउने एजेन्डा बोकेर चुनावी घरदैलो र कोणसभा गरिरहनुभएको छ ।

भण्डारीले अन्नपूर्ण संरक्षण क्षेत्रका कार्यक्रमलाई व्यवस्थित गर्ने अर्को महत्वपूर्ण योजना ल्याउनुभएको छ । सो कार्यक्रम पछिल्लो क्रममा जनजीवनसँग नजोडिएको भन्दै आलोचना भईरहेका बेला उहाँले जनजीवनलाई जोड्ने गरी कार्यक्रम ल्याउनका लागि पहल गर्ने बताउनुभयो । भण्डारीले  भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्दै संरक्षण र विकासलाई सन्तुलित ढंगले मिलाएर लैजाने प्रतिबद्धता जनाउनुभयो ।

Comments
Loading...