हिमाली आवाज । पोखरा २२ (पुम्दी भुम्दी) लाई धार्मिक पर्यटनको हव बनाउने ५ दलीय गठबन्धनबाट कास्की ३ का उम्मेदवार रामजी प्रसाद बराल जीवन र प्रदेशसभाका उम्मेदवार प्रकाश बरालले प्रतिवद्धत्ता व्यक्त गर्नुभएको छ ।
विश्व शान्ति स्तुपामा शनिबार आयोजना भएको २३ औं बार्षिक पूजा तथा सम्मान कार्यक्रममा बोल्दै उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले पोखरा २२ को पुम्दी भुम्दीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक सहयोग गर्ने संयुक्त प्रतिवद्धता जनाउनुभयो ।
बुद्धधर्म सम्बन्धि विश्व शान्ति स्तुपाः र हिन्दु धर्मको बिशाल महादेव मुर्तिले पछिल्लो समयमा बढी चर्चा भएको उल्लेख गर्दै उम्मेदवार जीवनले धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न आफुहरु सहयोग गर्ने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहनुभएका बरालले पोखराको शान्ति स्तुपाः मर्मत संभार, बिशाल महादेवको मुर्ति, पोखरा ११ मा निर्माण हुदै गरेको धर्मकाय बुद्ध मण्डला निर्माणमा प्रदेश सरकारको केही बजेट विनियोजन भएको उल्लेख गर्दै थप विकास गर्न आफुहरु कटिवद्ध भएको स्पष्ट पार्नुभयो । उम्मेदवार प्रकाशले पुम्दी भुम्दीको क्षेत्रबाट दुई जना उम्मेदवारको रुपमा पाउनु ठुलो कुरा भएकोले यसमा जित सुनिश्चित पारे थप विकास हुने दाबी गर्नुभयो । आफुहरु शुसासन कायम गर्न र भ्रष्टचार बिरुद्ध लाग्ने प्रकाशले प्रतिवद्धता जनाउनुभयो ।
विश्व शान्ति स्तुप समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, धर्मकाय बुद्धमण्डला काहुँ डाँडाका अध्यक्ष रुद्रकुमारी गुरुङ लगायतले भनाई राख्नुभयो ।

