पोखराको पुरानो नेवार वस्तीलाई सम्पदा क्षेत्र घोषणा गर्नुपर्छ :अरुण गिरी

हिमाली आवाज । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ (२) मा उम्मेदवारी दिनुभएका अरुण गिरीले पोखराको पुरानो नेवार वस्तीलाई सम्पदा क्षेत्रको घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

पुरानो नेवार वस्तीको मौलिकतालाई जोगाउँदै सो क्षेत्रलाई सम्पदा क्षेत्र घोषणा गरि त्यहाँको आर्थिक विकास गनुपर्ने उहाँले बताउनुभयो ।

शनिबार पोखरा ४ मा पर्ने गणेशटोल, पालिखेचोक, गैह्रापाटन, चिप्लेढुंगा लगाएतका क्षेत्रमा घरदैलो गरेका अरुण गिरीले नेवार समुदायको ऐतिहासिक विरासत बोेकेको ठाऊँलाई नीतिगत रुपमा सम्बोधन गरि त्यसको लागि विशेष प्याकेज निर्माण गर्नुपर्ने बताउनुभयो । गिरीले आफूसँग नेवार वस्ती रहेको सो क्षेत्रको आर्थिक गतिविधि बढाउनका लागि विशेष योजना रहेको बताउँदै निर्वाचित भएपछि सो क्षेत्रको वृहत्तर आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

पुरानो नेवार वस्तीका मौलिक संरचनालाई जोगाईराख्नका लागि राज्यले नीतिगत रुपमा सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै सो क्षेत्रको आर्थिक विकासका लागि नेवार समुदायसँग जोडिएको साँस्कृतिक, कला र खानपिनको सँस्कारलाई व्यवसायिकतासँग जोड्न आवश्यक रहेको गिरीको भनाई छ ।

आफूले घोषणापत्रमा समेत प्राथमिकता दिएर नेवार वस्तीको कुरालाई उल्लेख गरेको गिरीले बताउनुभयो ।  आफ्नो एजेन्डाअनुरुप काम गर्न सके पुरानो नेवार वस्तीलाई साँस्कृतिक हब को रुपमा विकास गर्न सकिने उहाँको तर्क छ ।

’नेवार समुदायको बाजागाजा, नृत्य र कलालाई प्रदर्शन गर्ने प्लेटफर्मसहित सो सम्पदा क्षेत्रको विकास गर्न जरुरी छ ।’ गिरीले भन्नुभयो,’त्यही ठाऊँमा बसेर नेवारी खानाका पारखीहरुले विभिन्न परिकारको मज्जा पनि लिन सक्छन् ।’ गिरीले सबै हिसाबले सम्पदा क्षेत्रको मौलिकता जोगाउँदै अध्ययन अनुसन्धानको केन्द्रको रुपमा सो क्षेत्रका विकास हुनुपर्ने बताउनुभयो ।

Comments
Loading...