जनतालाई राहतका कार्यक्रम ल्याउँछौँ:उम्मेदवार भण्डारी

हिमाली आवाज । बढ्दो महङ्गीले जनताको जीवन कष्टकर बनेको छ । खाद्य सामग्रीदेखी लत्ताकपडा सबैमा मुल्य वृद्धि भएको छ
राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न कारणले जनताको जीवन असहज हुने गरी बढेको मुख्यवृद्धिप्रति जनता रुष्ट छन् । न्यून आय भएका नागरिकलाई हातमुख जोर्न समेत धौ धौ छ ।

चुनावी अभियानका क्रममा जनताबाट चरम महङ्गीको मारमा आफूहरु परेको गुनासा पछि कास्की क्षेत्र नं ३ को प्रदेशसभा १ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीले मुल्य वृद्धि नियन्त्रण गर्ने र जनताको जीवन सहज बनाउने कार्यक्रम ल्याउन सरकारलाई दवाव दिने प्रतिवद्धता जनाउनुभएको छ ।

चुनावी घरदैलो तथा कोणसभाका क्रममा आज पोखरा महानगरपालिका वडा नं १ र २ मा भएका कार्यक्रमहरुमा उम्मेदवार भण्डारीले आफू विजयी भएर गएपछि प्रदेश सरकारसँग जनतालाई राहतमुलक कार्यक्रम ल्याउनका लागि दवाव दिने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो,“साँच्चै महङ्गीले जनताको ढाड सकेको छ । म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभुति मलाई पनि छ । हामी विजयी भएर गईसकेपछि मुल्यवृद्धि रोक्न र जनतालाई महङ्गीबाट राहत दिने कार्यक्रम सरकारबाट ल्याउन लाग्नेछु ।”

उम्मेदवार भण्डारीले पाँच वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व गठबन्धनले गर्ने बताउँदै अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धि सहित सुशासन दिने स्पष्ट पार्नुभयो ।

गठबन्धनका साझा उम्मेदवार भण्डारीले बाग्लुङ बसपार्कको स्तरोन्नति, प्राचिन मौलिक घर तथा मठमन्दिरको संरक्षण लगायतका कामको नेतृत्व आफूले गर्ने बताउनुभयो ।

उम्मेदवार भण्डारी सहितको गठबन्धनको टोलीले वडाका बागबजार, ट्याक्सीचोक, नयाँगल्ली, मिरुवा, विन्ध्यवासिनी लगायतका स्थानमा घरदैलो गर्दै सुशासन र विकासका लागि मत दिएर विजयी गराउन आग्रह गरेको थियो ।

Comments
Loading...