हिमाली आवाज ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।
आउँदो जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा बुद्धले गरेको हो । आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले जनाएको छ ।

यस्तै पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ । अहिले बुद्ध एअरलाइन्सले काठमाण्डौ–बनारस नियमित उडान गर्दै आएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा छ । मङ्सिर १४ गतेदेखि यान्त्रिक परीक्षण उडान अर्थात् ुक्यालिब्रेशन फ्लाइटु हुँदैछ । आउँदो जनवरीदेखि विमानस्थलबाट व्यावसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।