हिमाली आवाज । साबिक लेखनाथ नगरबासीले अहिले पनि कता कता पहिचान गुमे जस्तो लागिरहन्छ । पोखरा महानगरभित्रै परे पनि पोखराभन्दा फरक भएको मनोविज्ञान छँदै छ ।
यस्तो मनोविज्ञान विकासका पूर्वाधार र राजनीतिक नेतत्वले मात्र हटाउन सक्छ । यसका लागि पहल गर्ने माओवादी नेता दीपक कोइरालाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कास्की १ (१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका कोइरालाले प्राकृतिक सम्पदा, ताल, फाँट रहेको साबिक लेखनाथ क्षेत्र महानगरकै नमुना बन्न सक्ने सम्भावना औल्याउनुभयो ।
उहाँले भन्नुभयो,‘२ नदी मिसिँदा अलि तलसम्म पानी फरक फरक देखिन्छ, केही दूरी पार गरेपछि मिसिन्छ । पूर्वाधार र मानवीय विकास भएपछि फरक छौं, पछि प¥यौं भन्ने भावना हट्दै जान्छ ।’
कोइरालाले पोखरा २६ सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन पहलकदमी लिने आश्वासन दिनुभयो । मतदातासँगको भेटघाटमा उहाँले भन्नुभयो, ‘यहाँ ५ हजार अट्ने सम्मेलन केन्द्र बनाउन सकिन्छ । स्थानीय जग्गा दिन तयार छन् । यसले लेखनाथ क्षेत्रको विकासमा पनि योगदान गर्छ ।’

