चुनावी अभियानमा प्राप्त जनताको स्नेह मतबाट व्यक्त हुनेमा विश्वस्त छु : उम्मेदवार भण्डारी

हिमाली आवाज । पाँच दलीय गठबन्धनबाट कास्की निर्वाचन क्षेत्र नं ३(१)का साझा उम्मेदवार दुर्गादत्त भण्डारीले चुनावी प्रचार अभियानमा जनताबाट प्राप्त स्नेहले आफू विजयी हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

लामो समयदेखी निष्ठाको राजनीति र समाजसेवामा आफूले गरेको योगदानको जनताले सही मुल्याङ्कन गर्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

आसन्न निर्वाचनमा चुनाव प्रचार प्रसारको अन्तिम दिन आज पोखरा वडा नं २ का विभिन्न स्थानमा भएको घरदैलोमा उहाँले जनताबाट अहिले प्राप्त स्नेह जनताको मतबाट मंसिर ४ गते व्यक्त हुने विश्वास गर्नुभयो ।

उम्मेदवार भण्डारीले भन्नुभयो,“जनताले घरदैलोमा जुन स्नेह र विश्वास म प्रति व्यक्त भयो जुन स्नेह आगामी मंसिर ४ गतेको निर्वाचनमा मतबाट व्यक्त हुन्छ भन्नेमा आशावादी छु । हामी जितको नजिक पुगेका छौँ ।”

उम्मेदवार भण्डारीले उम्मेदवारी दर्तापछि आफ्नो निर्वाचन क्षेत्रको अधिकाँस टोलहरुमा पुगेर जनतासँग मत मागिएको बताँदै घरदैलो र कोणसभाहरुमा जनताले समर्थन र साथले उत्साहित बनाएको बताउनुभयो । संविधानको रक्षा, स्थिरता र समृद्धि हासिल गर्नका लागि आफूले विजयी भएपछि काम गर्ने भण्डारीले बताउनुभयो ।

जनताको अवस्था बदल्ने भिजन र मिसन लिएर चुनावी मैदानमा होमिएका भण्डारीले त्यसका लागि केहि योजना बनाएको बताउनुभयो । जनताको अवस्था बदल्ने हो भने उद्यमशिलताको विकास गर्दै स्वरोजगार सिर्जना गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो,“हुँदा खाने र हुनेखाने बीचको खाडल तोड्नुपर्ने माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि म चुनावी मैदानमा छु । जनताको अवस्था बदल्नेनै मेरो मुख्य एजेण्डा हो ।”

भण्डारीले शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धान लगायतलाई निःशुल्क बनाउने अभियानको थालनी गर्ने दृढ संकल्प लिएर चुनावी घरदैलोमा रहेका भण्डारीले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा जोड दिनुभएको छ । देशको समृद्धि उर्जा र पर्यटनबाट सम्भव हुने बताउँदै उहाँले यसको विकास, बिस्तार र प्रवद्र्धन गर्नुपर्ने र त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

जनताको सुविधाका लागि सुइखेत खोलामा तटबन्ध निर्माण गर्ने, सुईखेतहुँदै पोखरा–२४ जोड्ने बाटो कालोपत्रे गर्ने, अन्नपूर्ण–१, घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्रे गर्ने, सेदीदेखी ग्यारजाती सडकको स्तरोन्नती गर्ने, पोखरा–१८ मा पर्ने कृषि सडकलाई कालोपत्रे गर्ने लगायतका योजनापनि भण्डारीका छन् ।

त्यस्तै, लामाचौर–बाटुलेचौरहँुदै छहरेपानी पुग्ने बाटो कालोपत्रे गर्ने, लामाचौर–भुनपहरे–चितेपानी–चुरुङ सडकको स्तरोन्नती गर्ने, तल्लाकोट–भुजुङ सडक काल्पत्रे गर्ने, मिलनचोक–लाहाचोक– घाचोक–माछापुछ्रे सडक खण्ड कालोपत्रे गर्ने, मिलनचोक–खोराकोमुख–संदीघट्ट–ल्वाङघलेल खण्ड कालोपत्रे गर्ने, खोराकोमुख–रिभान मोटरबाटो स्तरोन्नती गर्ने लगायतका योजनापनि उहाँका छन् ।

उम्मेदवार भण्डारीले विध्यवासिनी–सराङ्कोट–कास्कीकोट सडकखण्ड चक्ल्याउने, विन्ध्यवासिनी–पोखरा बेसी सडक कालोपत्रे गर्नेलगायतका महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गर्नुभएको छ ।

Comments
Loading...