प्रतिनिधिसभा निर्वाचनको मतदान सकियो,आजै रातिदेखी गणना

हिमाली आवाज । देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको जनाएको छ ।

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातित मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरूमा आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् ।

आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताउनुभयो ।

हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने उहाँको भनाई छ ।

Comments
Loading...