लेखनाथ महोत्सव पुस ७ देखी

हिमाली आवाज । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा हुँदै आएको लेखनाथ महोत्सवको १८ औँ संस्करण आगामी पुस ७ देखी १८ गतेसम्म हुने भएको छ ।

संघले आज पत्रकार सम्मेलन गरी महोत्सवको मिति घोषणा गरेको हो । महोत्सव पोखरा—२७ तालचोक डाँडाकोनाकमा हुनेछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकासर सम्वृद्धि’को नारा सहित आयोजना गरिएको छ ।

कोभिड—१९, रुस युक्रेन युद्ध लगायतका कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याजदरवृद्धि थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन यस क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सव गर्न लागिएको संघका अध्यक्ष छत्रधर आत्रेयले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशिलता र प्रविधि हस्तान्तरण मुख्य उद्धेश्य हो ।

महोत्सवका कार्यक्रमहरुमा साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि लगायत समेटिएका प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक समेत रहनुभएका संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिनुभयो ।

महोत्सवमा ३३७ स्टल रहने र करीव दुई लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेलामा १० करोड बराबरको कारोबार हुने र ९५लाख आम्दानी र ८५ लाख खर्च भई रु १० लाख बचत हुने अपेक्षा गरएको छ ।

Comments
Loading...