हिमाली आवाज । पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ(आईटिएफ) जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–१ को उपाधि पुरुषतर्फ चाईनिज ताईपेईका केहाउ हङले जित्नुभएको छ । यसैगरी महिलातर्फ भारतकी दुर्गाङ्सी कुमार च्याम्पियन हुनुभयो ।
नेपाल टेनिस सङ्घको सहयोग तथा कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुरुष एकलतर्फ ताइपेइकै चेन हुई हो लाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्दै हङ च्याम्पियन बन्नुभएको हो ।
महिलातर्फ दुर्गाङ्सीले भारतकै श्रीनिधि बालाजीलाई ६–४ र ७–६ को सेटमा पराजित गर्नुभयो । प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तिक शर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट ‘वाकओभर’पाउँदै विजयी हुनुभयो ।महिला डबल्सतर्फ भारतका श्रीनिधि बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हाँसिल गर्नुभयो ।

उहाँहरुको जोडीले भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमारको जोडीमाथि ६–२, ६–२ को सेटमा सहज जित निकाल्दै विजेता बन्नुभएको हो । एक सातादेखि सञ्चालन भएको प्रतियोगितामा विभिन्न नौ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले टेनिस खेलले गण्डकी प्रदेशकै खेलकुदको सान उँचो पारेको बताउनुभयो ।
यहाँ आयोजना हुने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुले खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो । प्रतियोगिता अन्तर्गत आईतबारदेखि सर्किट–२ अन्तर्गतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।