पोखराको व्यापार मेलामा महावीर पुन,उद्योगधन्दा खुले रोजगारी सिर्जना हुन्छ

हिमाली आवाज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना गर्नु नभएको बताउनुभएको छ । उहाँले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको जिकिर गर्नुभयो ।

व्यवसाय संचालनमा आए स्वतः रोजगारी सिर्जना हुने उहाँको भनाइ थियो । ‘अहिलेको चुनावमा पार्टीहरूले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भन्नुभयो,‘ जुन कुरा गलत हो । सरकारले कुनै पनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन ।’

पुन पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ ’ अन्तर्गत आयोजना गरिएको ‘सम्भव छ–स्वदेशी सीपबाट समृद्धिको यात्रा’ विषयमा केन्द्रीत रहेर पत्रकार केशवशरण लामिछानेसँग गफिँदै हुनुहुन्थ्यो ।

सरकारले जागिर दिएर विदेश जानबाट मुक्ति मिल्ने नागरिकको सोच पनि गलत भएको तर्क उहाँको छ । ‘रोजगारी सिर्जना गर्ने उद्योगधन्दा र व्यवसायले हो’, पुनले भन्नुभयो,‘कुनै कारखाना खोल्यो भने २०, ५०, २०० कामदार चाहिन्छ । त्यहाँ रोजगारीे सिर्जना भयो ।’ पुनले उद्योगधन्दा खोल्ने वातावरण निर्माण,नियम–कानून बनाउने र लगानीकर्तालाई प्रोत्साहित गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

बाल्यकालको स्मरणदेखि दुर्गम गाउँमा बेतारे इन्टरनेट सेवा पु¥याउने अभियानसम्मको स्मरण सुनाउने क्रममा उहाँले आफूलाई मुर्खको रुपमा चित्रित गर्नुभयो ।

‘नसक्ने काम गर्ने,स्रोत साधन नहुँदा पनि काम आँट्ने मेरो बानी देखेर मान्छेहरुले मलाई मुर्ख भने’,उहाँले थप्नुभयो,‘हो म मुर्ख नै हुँ, २० वर्षअघि पोखरामा भर्खरै इण्टरनेट सुरु भएको बेला गाउँमा बिना तार इण्टरनेट पु¥याउँछु भन्नु मुर्खता नै थियो ।’ पुनले पैसा नै नहुँदा आविष्कार केन्द्र खोल्ने काम पनि मुख्र्याइँ नै भएको बताउनुभयो ।

म्याग्दीको नागीबाट ९ कक्षा पढ्न चितवन पुगेपछिमात्र आफूले चप्पल लगाएको स्मरण गर्दै पुनले जीवनलाई सहज बनाउनु नै आफ्नो ध्येय रहेको बताउनुभयो ।

Comments
Loading...