ट्रेड मलको दशैँ तिहार उत्सवका बम्पर विजेतालाई पुरस्कार प्रदान

हिमाली आवाज । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले ल्याएको दशैँ तिहार उत्सव २०७९ अन्तर्गत ‘नगदै नगदको वर्षा’ उपहार योजनाका बम्पर पुरस्कार विजेता छानिएका छन् ।

ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा मार्फत तारा गुरुङले रु ५० हजार पुरस्कार जित्न सफल हुनुभएको छ ।त्यसैगरी मेलिमा गुरुङ र कल्पना पौडेल रेग्मीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो ।

ट्रेड मलले बम्पर उपहार सहित गत भदौ १५ देखी पाक्षिक उपहार योजनामा सहभागीहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताउनुभयो ।चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको त्रिपाठीले जानकारी दिनुभयो ।

उपहार योजना अनुसार टे«ड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त पुरस्कार जित्न सक्ने व्यवस्था मिलाइएको समितिका कोषाध्यक्ष रघु दवाडीले जानकारी दिनुभयो ।

उपहार योजना समापन समारोहमा ट्रेड मलका संस्थापक अध्यक्ष विन्दुकुमार थापालाई प्रदेशसभामा विजयी भएको अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा मलका निर्देशक सन्तोष घिमिरे लगायतको सहभागिता थियो ।

पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।

Comments
Loading...