पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

हिमाली आवाज । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखी सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्य अन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मी लगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता अनुप जोशीले बताउनुभयो ।

उहाँका अनुसार यस्तो खालको उद्धार अभ्यास हरेक दुई÷दुई वर्षमा गर्ने गरिएपनि विमानस्थल सञ्चालनमा ल्याउनुअघि पहिलोपटक गरिएको हो ।

जोशीले भन्नुभयो,“ एयरपोर्टमै जहाज दुर्घना भएको अवस्थामा उद्धारका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वअभ्यास गरिएको हो । घटनापछि त्यसलाई कसरी ह्याण्डल गर्ने र जनधनको क्षति कमका लागि यस्ता अभ्यासले सघाउ पुग्दछ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान(क्यालिब्रेशन फ्लाइट) गत मङ्सिर ५ गतेदेखी १२ गतेसम्म गरिएको थियो । यान्त्रिक उडान परीक्षणको प्रतिवेदन प्राप्त भइनसकेको प्रवक्ता जोशीले बताउनुभयो ।

विमानस्थल सञ्चालनको चूनौतीका रुपमा रहेको रिठेपानी डाँडा कटानको काम सुरु भएपनि ल्याण्डफिल साइट स्थानान्तरण अझै हुन सकेको छैन ।

रिठेपानीको ४० मिटर मध्येमा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने विश्वास रहेको प्राधिकरणले जनाएको छ ।
पोखरा महानगरले विमानस्थल नजिकको ल्याण्डफिल साइट हटाउने प्रतिवद्धता जनाएपनि अझै सोही स्थलमै फोहोरमैला विसर्जन हुँदै आएको छ । महानगरले ल्याण्डफिलका लागि महानगरका विभिन्न वडाहरुमा स्थान खोजी गरेपनि टुँगोमा पुग्न सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलमा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैँङ्को रु २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिएपनि चार दशकपछि बल्ल निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखी निर्माण कार्य सुरु भएको हो ।

Comments
Loading...