हिमाली आवाज । पर्वतीय दिवसको अवसरमा अन्र्ताराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गर्नुभयो ।
उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताउनुभयो । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उहाँको भनाई छ ।
‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भन्नुभयो,‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’
‘डिसेम्बर ११’लाई लक्षित गरि प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्ने छ । आज महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रमहरु भएका छन् । छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको थियो ।
‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीनवर्षमा दोब्बर पर्यटनक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो ।
‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक कार्यक्रममा चारजना महिला आरोही वक्ता हुनुहुन्थ्यो । आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा भनाई राख्नुभयो । विषयममाथि छलफल गर्दै चारै आरोहीको एकै स्वर थियो–वातावरण र हिमाल संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।
आफूले चढिसकेको हिमाल चढ्न पुनः पुग्नुभएका पूर्णिमाले चारवर्ष यता जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताउनुभयो । उहाँका अनुसार समयमै यसविषयमा गम्भीर नबने सेताम्मे हिमालहरु कालो पथरको रुपमा परिणत हुनेछन् ।
‘हिमाल पहिलाभन्दा पग्लीराखेको छ । चारवर्ष धेरै परिवर्तन देखेँ । विशेषगरि खुम्बुक्षेत्रमा धेरै परिवर्तन देखेँ । यसलाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालो पथर बन्दै जानेछ,’ आरोही पूर्णिमाले भन्नुभयो ।
यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पु¥याएको बताउनुहुन्छ अर्की आरोही फुरदिकी शेर्पा । ‘आइसफल हटाएर चउर बनाएर एजेन्सीहरुले सुविधा दिएछ । ठुलोठुलो कम्पनीहरुले त्यस्तो नगरे हुन्थ्यो । काठमाडौँको ट्याक्सीले त्यती काम पाउँदैन जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ,’उहाँले भन्नुभयो ।
पहिलो कार्यक्रमपछि पोखरामा तीनवर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ विषयमा छलफल भएको थियो । छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी हुनुहुन्थ्यो । छलफल कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्रयाउन ठूलो भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउने निर्णय गरेको छ । उद्घाटन समारोहमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । भोलि महोत्सवको अन्तिम दिन यसै विषयमा छलफल कार्यक्रम हुँदैछ ।

