हिमाली आवाज । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको पशुपन्क्षी विकास निर्देशनालयको आयोजनामा आजदेखी पोखरामा टिप्पणी लेखन तालिम सुरु भएको छ ।
निर्देशनालयले मातहतका ११ वटै जिल्लाका विज्ञ केन्द्र, मत्स्य विकास कार्यालय र तालिम केन्द्रका प्रतिनिधिमुलक गरी १८ जना कर्मचारीहरुका लागि सो तालिम आयोजना गरेको हो । तालिममा चौथोदेखी आठौँ तहसम्मका कर्मचारी सहभागी छन् । तालिमको निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले कार्यालयहरुमा माथिल्लो तह वा निकायका लागि लेखिने टिप्पणी महत्वपूर्ण हुने भएकाले सो कार्यमा संलग्न हुने कर्मचारी दक्ष र सिपालुहुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“यस प्रकारको तालिम नितान्त जरुरी छ । तीन दिको तालिम अपुग भए यसलाई आवश्यकता अनुसार थप गर्दे जाने छौँ ।”
कार्यक्रममा पशु चिकित्सक डा राजेश चौधरी लगायतले तालिमको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सहभागीहरुलाई मुख्यमन्त्री कार्यालय, कृषि मन्त्रालय लगायतका कार्यालयका विज्ञहरुबाट तालिम प्रदान गरिने निर्देशनालयका अधिकृत सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

