काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।
सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मतपरिमाण सार्वजनिक भएपछि भाडा वृद्धिको सूचना जारी गरिएको हो । नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम सातातर्फ पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको थियो । तर, निर्वाचनमा नकरात्मक प्रभाव पर्न सक्ने भन्दै भाडा वृद्धिको सूचना सार्वजनिक गरिएको थिएन ।
निगमले शुक्रबारदेखि लागू हुने गरेर पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो । यसअघि, उद्योग मन्त्रालयकी सहसचिव उर्मिला केसीको संयोजकत्वमा यातायात व्यवस्था विभागको इञ्जिनियर, काठमाडौं युनिभर्सिटीको मेकानिकल इञ्जिनियर, निगमको अर्थ विभागको प्रमुख र ढुवानी व्यवसायीको प्रतिनिधि सम्मिलित टोलीले भाडा वृद्धिको अध्ययन गरिरहेको थियो ।

