वासुदेव पौडेल ।
पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।
यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको उक्त एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको उहाँले बताउनुभयो । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा–बनारस–पोखरा गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
“हामी उडानको लागि लगभग तयारीमा छौँ, पोखरा–बनारसको उडानको अनुमति माग्नुका साथै त्यसअघि परीक्षण उडानका लागि पनि अनुमति मागिएको छ”, उहाँले भन्नुभयो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिनुभयो । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।
उडान सञ्चालनकै तयारीस्वरुप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटानकार्य सकिएको उहाँले बताउनुभयो । धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको ४० मिटर डाँडा काटेर समतल बनाउने गरी बाँकी २४ मिटर काट्ने काम पनि तीव्र रुपमा चलिरहेको छ ।
“जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान ९हेलिकोप्टर र अल्ट्रालाइट बाहेक० पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी भएको छ”, जोशीले भन्नुभयो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी भइरहँदा पोखरेली पर्यटन व्यवसायी यसले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकीय नगरी पोखराको सिधैँ विश्व बजारमा सम्पर्क हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधैँ पोखरा आउनसक्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने छ ।

