आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता हुने, पुरस्कार राशि पनि बढ्यो

हिमाली आवाज । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औँ संस्करणमा १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ ।

प्रतियोगिताको विजेताले रु १२ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् । गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त भएकामा पोखरामा हुने १३ गतेको मैत्रीपूर्ण खेलका कारण दुई दिन पछि प्रतियोगिता सरेको हो ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लबहरु नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएससी, मछिन्द्र फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् । गत वर्षको एपिएफ च्याम्वियन बन्दा उपविजेता मनाङ मस्याङ््दी क्लब भएको थियो ।

विसं २०५८ मा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगिताबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आइएको छ । सो एकेडेमीमा हाल तेश्रो व्याचको १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताउनुभयो । प्रतियोगिताका लागि सहारा क्लब हङकङले रु तीन लाख सहयोग उपलब्ध गराउने छ ।प्रतियोगिताबाट आम्दानी रु एक करोड ५९ लाख ५० हजार र खर्च रु एक करोड १३ लाख ५६ हजार अनुमान गरिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा जस्तै यसपटक समेत हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ ।

Comments
Loading...