नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतिको पहिलो उडान

हिमाली आवाज । नेपालका दुई प्रमुख बायु सेवा सञ्चालक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेका छन् ।

दुवै एयरलाइन्सले आज अपराह्न पोखराको हालको विमानस्थलदेखी अन्तर्राष्ट्रिय विमानस्थलसम्म गरेको परीक्षण उडान सफल भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखी सञ्चालनमा आउन लागेको छ ।

परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । बुद्ध एयरले नयाँवर्षदेखीनै पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारससम्म गर्ने तयारी गरेपनि सम्बन्धित निकायमबाट हालसम्म उडान अनुमति प्राप्त नगरेको बताइन्छ । बुद्धले अनुमति प्राप्त गरेपछि भारतको नयाँदिल्ली, देहरादुन र अन्य भारतीय गन्तव्यहरुमा उडान भर्ने जनाएको छ ।

आगामी नयाँवर्षदेखी पोखराबाट काठमाडौँ लगायतका देशका अन्य गन्तव्यहरुमा हुँदै आएको उडान नयाँ विमानस्थलमा सञ्चालन गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । हालको विमानस्थललाई हेलिकप्टर, अल्ट्रालाइट र सानो जहाजको उडान अवतरणका लागि उपयोगमा ल्याइने जनाइएको छ ।

Comments
Loading...