हिमाली आवाज । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफलभएसँगै पोखरेलीमा खुशीयाली छाएको छ ।
विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान÷अवतरण भएसँगै उत्साह बढेको हो ।
नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् ।
आगामी पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखी सोही विमानस्थलबाट व्यावसायिक रुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिरणले बनाएको छ । यद्यपी अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसकेपनि आन्तरिक उडान भने सोही विमानस्थलबाट हुने निश्चित छ ।
लामो सपनासँग जोडिएको भव्य विमानस्थल निर्माण भएर उडान सुरु भएसँगै यहाँका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायतले खुशी साटासाट गरे । परीक्षण उडानमा सहभागी भएर उद्योगी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुले खुशी साटेका हुन् ।
पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित छन् । पोखरा अन्तर्राष्ट्रिय सहरसँग सिधा हवाईसम्पर्क स्थापित हुने भएकाले समेत उत्साह थपिएको हो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नवनिर्मित विमानस्थलमा परीक्षण उडान सफल भएको नयावर्षदेखी विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्सहित भएको बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास पर्यटन व्यवसायीले लिएको उहाँले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो,“हामी व्यवसायी ,लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्राउने योजना बनाउने छौँ ।्श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय सुविधाका होटल रहेको र दैनिक २० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलमा परीक्षण उडान सफल भएर विमानस्थल सञ्चालनको अन्तिम तयारी हुनु सबै पोखरेलीका लागि खुशीयाली भएको बताउनुभयो । उहाँले लामो समयको प्रतिक्षापछि विमानस्थल बनेकाले सबै मिलेर समस्या समाधान गर्दै निरन्तर सञ्चालनका लागि लागिपर्नुपर्ने बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक बनेका रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइटको समस्या समाधानसँगै उडान थप सुनिश्चित बनेको छ ।
ल्याण्डफिल साइटमा पोखरा महानगरले फोहोरमैला लैजान बन्द गरेको छ । त्यसैगरी डाँडा कटानको काम पनि धमाधम भइरहेकाले विमानस्थल तोकिएको मितिमै सुनिश्चित भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार हाल वडाहरुमै फोहोर व्यवस्थापनको अल्पकालीन व्यवस्थापन गरिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहण गरिएको चारदशकपछि विसं २०७३ मा नयाँवर्षका दिन शिलान्यास भएर काम सुरु भएको विमानस्थल निर्माण विसं २०७४ देखी सुरु भएको हो ।
विसं २०३२ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर पहिलोपटक जमिन अधिग्रहण गरिएको थियो । पोखरा—१४ चाउथेमा विमानस्थलका लागि छुट्टाइएको तीन हजार १०० रोपनी जमिन लामो समय बाँझो रह्यो । विमानस्थलका लागि थप काम सुरु नहुँदा धेरैले आस मारेका थिए । लामो सङ्घर्षपछि पोखरामा विमानस्थल बनेको हो ।

