हिमाली आवाज । साहशिक पर्यटनमा रुची राख्नेहरुका लागि अब पोखरामा सूर्योदयसँगै जीपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् ।
पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटदेखी हेमजाको याम्दीसम्म विसं २०७० देखी जीपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सूर्योदय र जीपलाइनको अनुभवसँगसँगै प्रदान गर्न लागेको हो ।
पोखराको सराङकोटमा सूर्योदयको दृश्यावलोकनका लागि पुग्ने पर्यटकहरुलाई जीपलाइनको अनुभव समेत सँगै प्रदान गर्न सो सुविधा ल्याइएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताउनुभयो ।

उहाँका अनुसार विहान ५ः०० बजेदेखी ५ः३० बजे पर्यटकलाई पोखराको लेकसाइडदेखी गाडीमा सराङकोटसम्म पु¥याएर सूर्योदय दृश्यावलोकनसहित जीपलाइनको अवसर प्रदान गरिनेछ । हाल विहान ९ः०० बजेपछिमात्र जीपलाइन सेवा सञ्चालन हुँदै आएको छ ।
उहाँले भन्नुभयो,“सनराइज हेर्न आउने एडभेञ्जर लभर्सहरुका लागि विहानको समयमा जीपलाइनको अवसर थिएन, सो कमी हटाउँदै उनीहरुलाई सवेरै साहशिक जीपलाइनको अनुभव दिलाउने गरी यो प्याकेज ल्याएका हौँ, यसबाट पोखरामा पर्यटकले थप सुविधा प्राप्त गर्नेछन् र रमाउने छन् ।”
हाल दैनिक चार सयदेखी पाँच जनासम्म पर्यटक सूर्योदय हेर्नका लागि सराङकोटमा पुग्ने गरेका छन् । उनीहरुलाई लक्षित गरी हाइग्राउण्डले जीपलाइन सेवा सुरु गरेको हो ।
सनराइज प्याकेजमा स्टेशनसम्म आउन र गन्तव्यसम्म यातायात सुविधा, सराङकोटमा बे्रकफाष्ट र जीपलाइनको अनुभव समेटिएको छ । सो प्याकेजमा प्रतिव्यक्ति रु १२ हजार शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
सराङकोटमा समुन्द्र सतहदेखी एक हजार ५५० मिटरको उचाईमा रहेको स्टेशनबाट याम्दीमा ९५० मिटर उचाईको तल्लो स्टेशनसम्म जीपलाइन सञ्चालन हुने गरेको छ । दुई स्टेशनबीचको दूरी एक किमी ८०० मिटर छ ।
विश्वमानै ६०० मिटरको सवैभन्दा भिरालो(स्टिपेष्ट) जीपलाइन रहेको कम्पनीले विश्व रेकर्डको सर्टिफिकेट प्राप्त गरेको निर्देशक मानन्धरले बताउनुभयो । सो प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीको प्रवद्र्धनका लागि सघाउ पुग्ने बताइन्छ ।
हाइग्राउण्ड एडभेञ्जरले एकदशक अघिदेखी पोखरामा जीपलाइन सुरु गरेको हो । सो कम्पनीले हाल साहशिक पर्यटकलाई लक्षित गरी जीपलाइन, बञ्जी, स्वीङ र एटिभी ड्राइभ सञ्चालन गरिरहेको छ ।
पोखरामा पछिल्लो समय साहशिक पर्यटकीय गन्तव्यहरु थपिदै जाँदा पर्यटकको बसाई अवधि बढाउन सहयोगी भएका छन् । पहिलोपटक साहशिक खेल प्याराग्लाइडिङबाट साहशिक पर्यटकीय गन्तव्य सुरु भएको यहाँ जीपलाइन, बञ्जीसँगै क्यानोनिङ लगायतले पर्यटकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

