सरकार गठनको समय आज ५ बजेसम्म, प्रधानमन्त्री को भन्ने अझै अनिर्णित

हिमाली आवाज । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते एक साताका लागि निर्धारण गरेर नयाँ सरकार गठनको आव्हान गरेको आज अन्तिम दिन हो ।

राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि दावी पेश गर्न आव्हान भएको समय सकिनै लाग्दा समेत दलहरुबीच भावी प्रधानमन्त्री को भन्नेमा सहमति बन्न सकेको छैन ।

हालको सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली काँग्रेस र माओवादी केन्द्रले पहिलो चरणमै प्रधानमन्त्रीको अडान नछाडेपछि गठबन्धनबीच सहमति नबनेको हो । काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र माओवादीका अध्यक्ष दाहाल दुबै पहिलो चरणमै प्रधानमन्त्ती बन्न चाहन्छन् ।

हिजो साँझ बालुवाटारमा भएको सत्तारुढ दलका नेताहरुको बैठकमा सहमति बन्न नसके पनि आआफ्नो दलभित्र आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति बनेकाले आज पार्टीको आन्तरिक छलफल पछि पुनः संयुक्त बैठक बसेर सहमति गर्ने प्रयास गरिने गठबन्धनका नेताहरुले बताएका छन् ।

संविधानको धारा ७६ उपधारा (३) ले प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने व्यवस्था गरेको छ ।

सो अनुसार नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने व्यवस्था छ ।

Comments
Loading...