हिमाली आवाज । वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ ।
आगामी पुस १७ गतेदेखी विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो ।
हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँवर्षदेखी नियमित उडान गर्ने जनाएको छ ।
विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौँ–पोखरा–काठमाडौँ दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इन्चार्ज जितेन्द्र यादवले बताउनुभयो ।उहाँका अनुसार यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय ‘सिआरजे २००’ जहाजमा जेट इन्जिन भएकाले सुरक्षित एवं आरामदायी सहित द्रुत गतिको मानिन्छ ।हवाई सेवा सञ्चालनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने यादबले बताउनुभयो ।
यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौँ र पोखराका पर्यटन व्यवसायीहरुसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ ।
इन्चार्ज यादवले भन्नुभयो,“हाम्रो सेवालाई थप चुस्त बनाउने क्रममा पोखराको इतिहासमै पहिलो पटक जेट विमान मार्फत यात्रु लाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुशीको कुरा हो । पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ ।”
पोखरा—काठमाडौँ भाडा सुरुआतमा न्यूनतम रु चार हजार १०० तोकिएको छ । यात्रुको चाप अनुसार अन्य एयरलाइन्स सरह मूल्य तोकिने कम्पनीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै विमान कम्पनीहरुले परीक्षण उडान गर्दै आएका छन् ।
केही दिनअघि बुद्ध एयर र यति एयरलाइन्सले सफलतापूर्वक परीक्षण उडान गरेका थिए । पुस १७ देखी नवनिर्मित विमानस्थलदेखी आन्तरिक हवाई सेवा दिनका लागि कम्पनीहरुले कार्यालय व्यवस्थापन लगायतका कार्य गरिरहेका छन् ।

