हिमाली आवाज । काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ ।
यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ ।
यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तहमा बुझ्ने गरेका छन् ।
सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

