स्पेनको कासेरेन्योसँगको मैत्रीपूर्ण खेलमा गण्डकी पराजित

हिमाली आवाज । स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी—११ माथि सहज जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३—० को फराकिलो जित निकाल्दै घरेलु टोलीलाई निरास पारेको हो ।

कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरी सहज जित निकाल्यो । कासेरेन्योको जितमा कार्मेलो, मिचेल कारिलेरो र बेर्मुले समान एक÷एक गोल गर्नुभयो ।

खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभएकामा ३० औं मिनेटमा मिगुएलले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । खेलको ९० औँ मिनेटमा बेर्मुले गोल गरेपछि घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै कासेन्योले खेल जितेको हो ।

“शान्तिको लागि फुटबल”भन्ने मुल नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनिसल टोली मैत्रीपूर्ण खेलका लागि पोखरा आएको हो । स्पेनको टोलीमा केही विश्वकप खेलिसकेका खेलाडी समेत आवद्ध थिए ।

खेलपछि स्पेनका प्रशिक्षक जुलिओ कोबोसले नेपाल आएर खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपाली टोलीको तीव्र गतिमा खेल्ने शैली आफूहरुलाई मन परेको उल्लेख गर्नुभयो ।

गण्डकीका प्रशिक्षक राजेन्द्र तामाङले स्पेनिस टोलीले शारीरिक र प्राविधिक रुपमा राम्रो खेलेको बताउँदै आफ्नो टोलीले केही सिक्ने अवसर प्राप्त गरेको बताउनुभयो ।

गण्डकीका कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्ट मध्यको एक क्लवसँग पोखरामा फुटवल खेल्न पाउनु खेलाडी र दर्शकहरुको लागि ठूलो उपलब्धि भएको बताउँदै यसखेलले आगामी दिनमा थप खेल खेल्नका लागि सुरुआत भएको बताउनुभयो । स्पेनको सो टोलीले काडमाडौँमा पनि एक मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।

Comments
Loading...