पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पुस १७ गते भव्य उद्घाटन गरिदै

—कृष्ण दवाडी

हिमाली आवाज । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।

यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलोदिन देखी सो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीहरुको बहृत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ ।

गौतमले भन्नुभयो,“सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् लगायत पर्यटन सङ्घ संस्थाहरुको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन विहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुहरुलाई फूलमालाले स्वागत गरिने छ ।

त्यसैगरी विहान ११ः०० बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपरान्ह २ बजेपछि ‘सेलिब्रेशन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातीका झाँकी, फेसन सो लगायतका कार्यक्रमहरुका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि सेलिव्रेशनको जिम्मा महानगरको छ ।

महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी  अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुती र सेलिव्रेशन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक लगायतलाई रथारोहण सहित अभिनन्दन गरिनेछ ।  महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेकसाइडदेखी कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाई कार्यक्रम गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थित रूपमा भव्य र सभ्य बनाउनु पर्ने आचार्यले बताउनुभयो ।

यो दशकौँ लामो पोखरेलीहरूको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,“उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमितिहरु गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोशेढुंगा साबित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरहरूसँग हुने पोखराको सिधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।”

विमानस्थलको उद्घाटनका दिनदेखीनै सबै आन्तरिक उडानहरु सोही विमानस्थलबाट हुनेछन् । नीजि विमान कम्पनीहरुले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडान समेत सम्पन्न गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशक अघि सपना देखेका थिए । लामो प्रतिक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्सहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो,“ विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी ,लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्राउने योजना बनाउने छौँ ।”

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैँङ्कको रु २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिएपनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखी निर्माण कार्य सुरु भएको हो ।

Comments
Loading...