माओवादी केन्द्र गण्डकीको संसदीय दलको नेतामा चुमान चयन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ ।

सो दलको आज साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो । संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्सीय प्रदेशसभामा माओवादीका प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिकका तीन गरी आठ सदस्य छन् ।

यसअघि हिजोदेखी सुरु भएर आज विहान सम्पन्न भएको माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेतामा चुमानलाई बनाउने र प्रदेशसभामा प्रश्ताव लैजाने निर्णय गरेको थियो ।

Comments
Loading...