आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

हिमाली आवाज । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३—१ गोलले पराजित गर्दै संकटा फुटबल क्लब पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा फुटबल रंगशालामा सोमबार तेस्रो क्वाटरफाइनलको खेलमा सुरुआती अग्रतालाई जोगाउन नसक्दा विभागीय क्लब आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा आर्मीमा नवयुग श्रेष्ठले पहिलो हाफको १४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपनि अग्रता लामो समय टिकेन । संकटाका निशान खड्काले दिनेश हेमजनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टी अवसरलाई नवयुगले सदुपयोग गर्दै अग्रता बनाउनुभएको थियो ।
दुई वर्ष अघिको च्याम्पियन टोली संकटाले ३६ औँ मिनेटमा मेसिकोको गोल मार्फत खेलमा फर्कियो । संकटाका कप्तान सुनिल बलले उपलव्ध गराएको बललाई विपक्षी टोलीका दुई डिफेन्डरलाई छकाउँदै मेसुकेले गोल गर्नुभएको हो ।

पहिलो हाफको खेल बराबरी सकिएकामा दोस्रो हाफमा संकटाले दुई गोल गर्न सफल भयो । सुरज ज्यू ठकुरीले ७९ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बनाउनुभएकामा अतिरिक्त समयको चौथो मिनेटमा संकटाका विदेशी खेलाडी स्टेफेनले गोल गरेपछि जित सुनिश्चित गर्नुभएको हो ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनलको खेलमा मंगलबार  मनाङ मस्र्याङदी क्लब र भुटनिज युथ स्पोर्टस क्लब अमेरिका बीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक सहाराका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments
Loading...