काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा अभूतपूर्व विश्वास आर्जन गर्नुभएको छ ।
प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई २६८ सांसदले विश्वासको मत प्रदान गरे। २७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस टेकबहादुर गुरूङ निलम्बित हुनुहुन्छ ।
बैठकमा दुई सय ७० सांसद उपस्थित रहेकामा प्रस्तावको विपक्षमा दुई मत पर्यो। प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दिए।
स्वतन्त्र सांसद्हरू प्रभु साह, डा. अमरेशकुमार सिंहको मत पनि प्रचण्डले प्राप्त गर्नुभयो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको मत दिएनन्।

