पत्रकार पौडेलको शवयात्रा सहित अन्त्येष्टि,‘पत्रकारिता क्षेत्रले एउटा नक्षत्र गुमायो’

हिमाली आवाज । गत माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलेका आज शवयात्रा सहित अन्त्येष्टि गरिएको छ ।

काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी पोखराका पत्रकारद्धय पौडेल र अनिल शाही सहित ७२ जनाको निधन थियो । दुर्घटनामा परेका मध्ये हालसम्म एक जना बाहेक अन्यको शव फेला परेको हो ।

पौडेलको शव परिवारले पहिचान गरेपछि सोमबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी आज विहान परिवारलाई हस्तान्तरण गरिएको थियो । अर्का पत्रकार शाहीको शव यहाँ पहिचान नभएपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ । स्व पौडेलको अन्त्येष्टि अघि पार्थिव शरिर पत्रकार महासङ्घमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । पत्रकार पौडेल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशको इन्चार्ज समेत हुनुहुन्थ्यो ।

महासंघमा स्व पौडेलप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका मन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे, पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, निर्वतमान अध्यक्ष गोविन्द आचार्य, महासचिव रोशन पुरी, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, प्रदेशसभाका सांसदहरु, राजनीतिक दलका नेता, सञ्चारकर्मी, उद्योगी एवं पर्यटन व्यवसायी लगायतले सयौँले श्रद्धाञ्जली अर्पण गर्नुभयो । पौडेलको शवयात्रा सहित रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पोखरेली पत्रकार त्रिभुवन पौडेलको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आज स्व पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रममा उहाँले पौडेलको निधनबाट समाज, पत्रकारिता क्षेत्र र पत्रकारले एक नक्षत्र गुमाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाउनुभएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।दुखद् घटनामा एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकारलाई अल्पायुमै गुमाउन पुग्यौँ, महासङ्घले उदयीमान पत्रकार नेता गुमाएको छ ।”
अध्यक्ष पोखरेलले विमान दुर्घटनाका यस्ता घटना भविष्यमा हुन नदिन राज्य र राज्यका संरचनाहरुले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

स्व पौडेलको निधनमा महासङ्घले १३ दिनसम्म शोकस १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पौडेलको निधनले सबै सञ्चारकर्मीलाई शोकाकुल बनाएको बताउनुभयो । पौडेल निडर, जुझारु र संघर्षशील व्यक्ति भएको बताउँदै उहाँकै अग्रसरतामा शाखाको सुविधासम्म भवन निर्माण लगायतका काम सम्पन्न भएको बताउनुभयो ।

Comments
Loading...