विमान दुर्घटनाको अध्ययन गर्दै एटिआर कम्पनीको विज्ञ टोली

हिमाली आवाज । पोखरामा यही माघ १ गते भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटना बारे स्थलगत अध्ययनका लागि फ्रान्सस्थित एटिआर कम्पनीको विज्ञ टोली पोखरा आएको छ ।

एटिआर विमान निर्माता कम्पनीका विज्ञ टोलीले पोखराको वडा नं ७ र १५को सीमानास्थित दुर्घटनास्थल सेती खोँचमा अनुसन्धान गरिरहेको छ । सो टोलीले घटनास्थलको अध्ययन र घटनाका बारेमा जानकारी लिएको छ ।

टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासी लगायतले सहजीकरण गरिहेका छन् । टोलीले घटनास्थलमा ड्रोन समेत उडाएर अवस्थाको जानकारी लिएको छ ।

सरकारले दुर्घटनाको छानविनका लागि गठन गरेको जाँच आयोगले समेत पोखरा आएर आफ्नो काम सुरु गरिसकेको छ । आयोगका केही सदस्य अध्ययन सकेर काठमाडौँ फर्किसकेको र केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो ।

काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा विमानमा सवार सवै ७२ जनाको निधन भएको थियो । दुर्घटनामा परेकाहरुमध्ये अझै एक जनाको शव प्राप्त हुन सकेको छैन ।

Comments
Loading...