पत्रकार महासंघ गण्डकीले पौडेलको स्मृतिमा दस लाखको अक्षयकोष स्थापना गर्ने

हिमाली आवाज । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ ।

सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक बर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।

महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरे जुटाउने सुवेदीले जानकारी दिनुभयो ।

उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई (पछि कार्यविधि तय भए अनुसार) प्रदान गरिनेछ । पुरस्कार सम्बन्धि कार्यविधि भने पछि बनाइने बताइन्छ ।

‘अहिलेलाई अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ । यही कोषबाट हरेक वर्ष हाम्रा संस्थापक अध्यक्षको स्मृतिमा प्रदेश स्तरीय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । यसको कार्यविधि बनेपछि बनाइने छ’ सुवेदीले भन्नुभयो ।

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जना सहित पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेलको पनि निधन भएको हो ।

स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकारका साथै त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव हुनुभयो । उहाँ प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

Comments
Loading...